काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षे उमेर हदको सन्दर्भमा दिएको तर्कलाई लक्षित गर्दै एमालेका पूर्ववरिष्ठ नेता डा. भीम रावलले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। ओलीले आफू जेल बसेको समय घटाएर उमेर गणना गर्नुपर्ने प्रस्तावसहित उमेर हद नहुने तर्क राखेपछि रावलले चर्को व्यङ्ग्य गरेका हुन्।

सार्वजनिक रुपमै आलोचना गर्दै रावलले ओलीको "पद र सत्ता प्राप्तिको अतृप्त चाहना"लाई संकेत गर्दै कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ।"

त्यसपछि उनले प्रश्न गरे, “केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?”

ओलीले केही दिनअघि नेकपा एमालेको वैचारिक तथा सांगठनिक प्रशिक्षण कार्यक्रमका क्रममा ७० वर्षे उमेर हदको व्यवस्था उपयुक्त नरहेको भन्दै पार्टीमा पुनः छलफलको विषय बनाउनुपर्ने धारणा राखेका थिए। उनले आफू लामो समय जेलमा बसेको, त्यस अवधिमा सक्रिय राजनीतिमा संलग्न हुन नपाएको भन्दै उमेर गणनामा त्यसलाई पनि विचार गर्नुपर्ने सुझाव दिएका थिए।