सिराहा —सिराहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा ८० वर्षीय वृद्ध फनिलाल यादवको धारिलो हतियार प्रहारबाट हत्या गरिएको छ।
मंगलबार राति आफ्नै घरमा सुतिरहेका यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेको मृतकका छोरा कपिलदेव यादवले जानकारी दिएका छन्।
"बुबा सुतिरहनुभएको थियो। बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा उहाँ गम्भीर घाइते अवस्थामा फेला पर्नुभयो," उनले भने।
गम्भीर अवस्थामा फेला परेका यादवलाई तत्काल लहानस्थित प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले पुष्टि गरे।
घटनापछि प्रहरी समयमै घटनास्थलमा नपुगेको भन्दै आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनगढी बजार क्षेत्रमा टायर बालेर विरोध जनाएका थिए। स्थानीयको अवरोधका कारण सडक करिब एक घण्टासम्म अवरुद्ध भएको थियो।
डीएसपी पासवानका अनुसार प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद वा पुरानो झगडा कारण हुनसक्ने आशंका गरिएको छ।
"हत्यासम्बन्धी घटनाको अनुसन्धान तीव्र पारिएको छ। दोषीको पहिचान भएपछि कानूनी कारबाही प्रक्रिया अघि बढाइनेछ," उनले भने।
यादवको हत्याले स्थानीय क्षेत्रमा त्रास र शोकको वातावरण सिर्जना भएको छ। घटनापछि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



















