काठमाडौं — वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुरको महालक्ष्मी नगरपालिका–२ बस्ने तथा सर्लाही चक्रघट्टा गाउँपालिका–४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका–६ बस्ने तथा सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय नवीन खड्का, र सर्लाही विष्णु गाउँपालिका–७ घर भएका ४१ वर्षीय राजनारायण महतो रहेका छन्।
प्रहरीका अनुसार सुजनले जापान पठाइदिने भन्दै एक पीडितसँग ८ लाख ५० हजार रुपैयाँ, सतेन्द्रले कतार पठाइदिने भन्दै ९० हजार रुपैयाँ, नवीनले कम्बोडिया पठाइदिने भन्दै ३ लाख रुपैयाँ र राजनारायणले कुवेत पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ लिएका थिए। रकम लिएको केही समयपछि उनीहरू सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले सुजनलाई काठमाडौं–३ बाट, सतेन्द्रलाई काठमाडौं–३२ बाट सोमबार पक्राउ गरेको हो। त्यस्तै, नवीनलाई काठमाडौं–९ बाट र राजनारायणलाई कागेश्वरी मनोहरा नगरपालिका–८ बाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।



















