काभ्रेपलाञ्चोक— सरकारी कागजातसहित जनप्रतिनिधिलगायतको दस्तखत र छाप कीर्ते गर्ने दुई जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले काठमाडौंको बानेश्वरबाट साइबर समेत सञ्चालन गर्दै आएका एक व्यक्तिसहित पक्राउ गरी धुलिखेलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–१२ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय जितेन्द्र तामाङ र गोरखाको शहीद लखन गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरस्थित ‘गज्जबको फोटोकपी एन्ड स्टेसनरी सेन्टर’ सञ्चालक ४१ वर्षीय किरण अर्याल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न सरकारी कार्यालय, जनप्रतिनिधि, राजनीतिक दल तथा व्यक्तिका दस्तखतसहित छाप, उपकरण र नगद बरामद गरी दस्तखत कीर्ते गर्ने काम गर्दै आएका थिए।
बरामद सामग्रीमा वडाध्यक्षको सहीसहित २६ थान छाप, ६८ हजार ७०० रुपैयाँ नगद, विभिन्न मुलुकका १४ थान नोट, दुई थान नागरिकता प्रमाणपत्र, पासपोर्ट, विभिन्न संस्थाका कागजात, ११ थान पेनड्राइभ, कम्प्युटरको सिपियू र दुई थान हार्डड्राइभ रहेका छन्।
जिल्ला प्रहरी प्रवक्ता मीनबहादुर घलेले भने, “मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान जारी छ। तामाङले नाता प्रमाणित गर्न वडा कार्यालय जान लाग्दा साइबर सञ्चालक अर्यालले ‘यहाँबाटै बनाइदिन्छु, ७५० रुपैयाँ दिनु’ भनेर नक्कली कागजात तयार गरिदिएका हुन्।”
प्रहरीले घटनालाई गम्भीर कागजात कीर्ते अपराध ठहर गर्दै थप अनुसन्धान गरिरहेको छ।



















