काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गर्दै पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ। पार्टीका संरक्षक रेशम चौधरी पक्षधर नेताहरूले श्रेष्ठमाथि गम्भीर आरोप लगाउँदै उनीविरुद्ध कडा निर्णय लिएका हुन्।

भेलामा अध्यक्ष श्रेष्ठलाई हटाएर नयाँ नेतृत्व चयन गर्ने प्रस्तावमा छलफल अघि बढाइएको छ। नागरिक उन्मुक्तिका संस्थापक केन्द्रीय सदस्य तथा अनुशासन आयोग अध्यक्ष रामलाल डगौरा थारूका अनुसार, ‘अध्यक्षलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रस्ताव राष्ट्रिय भेलाबाट पारित भइसकेको छ। भोलि बिहान ११ बजे बस्ने बैठकमा नयाँ अध्यक्ष चयनबारे छलफल हुनेछ।’

श्रेष्ठमाथि पार्टी विधान विपरीत गतिविधि, अनुशासन उल्लंघन, तथा पार्टी संरचनाको बेवास्ताजस्ता आरोप लगाइएको छ। उनीमाथि पार्टी भित्रकै घुस काण्डमा संलग्न रहेको आरोप पनि लगाइएको छ। डगौराका अनुसार, ‘घुस प्रकरणमा उनको नाम जोडिएको अडियो सार्वजनिक भए पनि उनले पार्टीलाई कुनै स्पष्टीकरण दिएकी छैनन्।’

पार्टीका बहुमत संस्थापक केन्द्रीय सदस्यहरूले आइतबार बसेको बैठकमा २४ घण्टाभित्र केन्द्रीय समिति बैठक बोलाउन अध्यक्षलाई अल्टिमेटम दिएका थिए। तर उनले जवाफ नदिएको भन्दै अनुशासन आयोगले मंगलबारै कारबाही गर्ने निर्णय गरेको थियो।

भेलामा २१ जना संस्थापक सदस्यमध्ये १२ जना उपस्थित थिए। डगौराका अनुसार, संस्थापक सदस्य लक्ष्मणकिशोर चौधरी निर्णयमा सहमत भए पनि बिरामी भएकाले भेलामा सहभागी हुन सकेनन्।

राष्ट्रिय भेलाको संयोजन रामलाल डगौराले गरेका थिए भने संरक्षक रेशम चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।