काठमाडौं —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेका छन्। पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले आज सामाजिक सञ्जालमार्फत राजीनाको घोषणा गरेका हुन्।
कार्कीले पार्टीलाई "अध्यक्षको प्राइभेट क्लब" सरह बनाइएको आरोप लगाउँदै तीन दशकदेखि गुटबन्दी, स्वार्थ र व्यक्तिवादी प्रवृत्तिले राप्रपाको राजनीति दिशाहीन बनेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “२०४७ सालमै एउटै विचार समूहबीच सहमति हुन नसकी राप्रपा जुम्ल्याहा रूपमा जन्मिएको थियो। त्यसयता ‘एकता’ को नारा लागेपनि व्यवहारमा गुट र स्वार्थकै वर्चस्व रह्यो।”
अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै कार्कीले योगदानकर्तालाई अपमान गर्ने र आलोचकलाई निष्काशन गर्ने प्रवृत्तिले पार्टी सुधारको सम्भावनै नरहेको दाबी गरेका छन्।
“जब नेतृत्व नै आफ्ना त्यागी कार्यकर्तालाई हटाउन उद्यत हुन्छ, तब पार्टीको भविष्य निर्माण असम्भव देखिन्छ,” उनले स्ट्याटसमा लेखेका छन्। अध्यक्ष लिङ्देनलाई उनले “मुर्ख, संवेदनहीन र हैकमवादी नेतृत्व” को संज्ञा दिएका छन्।
अब उप्रान्त आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने स्पष्ट गर्दै उनले पार्टी त्यागको निर्णय सार्वजनिक गरेका हुन्।
पूर्व मधेस प्रदेश संयोजक, पार्टी प्रवक्ता, अनुशासन समिति सदस्यसचिव लगायत विभिन्न जिम्मेवारी सम्हालेका कार्की राप्रपाको वरिष्ठ तहका नेता मानिन्थे।




















