सिन्धुली — रोजगारीको प्रलोभनमा फसाइ भारत पुर्‍याइएका दुधौली–१ का ३४ वर्षीय खिलबहादुर भुजेलको मृगौला चोरी भएको पुष्टि भएको छ।

पोखरामा होटलमा काम लगाइदिने भन्दै भारत पुर्‍याइएका भुजेलको बेहोस अवस्थामा मृगौला निकालिएको उनका परिवारले बताएका छन्। करिब तीन दिनअघि भारतमै शल्यक्रिया गरी फिर्ता पठाइएका उनी घर फर्किएपछि बिरामी परेका थिए। समिट माउन्टेन अस्पताल डकाहामा उपचार गराउँदा उनको शरीरमा एउटा मात्र मृगौला रहेको खुलेको हो।

भारत लैजाने व्यक्तिले ‘गम्भीर रोग लागेको र उपचार गराइएको’ भन्दै भ्रम फैलाउन खोजेपनि अंग तस्करीको शंकास्पद घटना भएको पुष्टि भएपछि परिवारले प्रहरी समक्ष उजुरी दिने तयारी थालेका छन्।

भुजेललाई भारत लगेर अंग चोरी गर्ने गिरोहको खोजी र कारबाहीका लागि सुरक्षा निकाय र सम्बन्धित निकायले तत्काल अनुसन्धान अघि बढाउनुपर्ने स्थानीयको माग छ।