धरान — सुनसरीको धरान उपमहानगरपालिका–८ गुराँस मार्गस्थित एक घरमा कोठा भाडामा बस्दै आएका एक युवक मृत फेला परेका छन्। मंगलबार बिहान करिब ११:३० बजे दिलबहादुर लिम्बुको घरको कोठामा झुन्डिएको अवस्थामा युवक मृत फेला परे पनि उनको वास्तविक ठेगाना र परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अन्दाजी २५ देखि २८ वर्ष उमेरका ती युवक डेढ महिनाअघि उक्त कोठामा भाडामा बस्न आएका थिए। आफूलाई सौजन श्रेष्ठ जोशी भनेर चिनाउने ती युवकको वास्तविक नाम, ठेगाना र पारिवारिक विवरण पुष्टि हुन सकेको छैन।

धरानका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगूका अनुसार कोठाबाट दुर्गन्ध निस्किएपछि घरधनीको बुहारीले झ्यालबाट हेर्दा युवक झुन्डिएको अवस्थामा देखेकी थिइन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। ‘उनको परिचय खुल्न सकेको छैन, घटनाबारे थप अनुसन्धान जारी छ,’ डिएसपी जबेगूले भने।

प्रहरीका अनुसार मृतक धरान क्षेत्रमा गाडीको सहचालक (खलासी) का रूपमा काम गर्दै आएका थिए। हाल शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। युवकको आफन्त वा परिचित व्यक्तिहरूलाई प्रहरी कार्यालय धरानमा सम्पर्क गर्न आग्रह गरिएको छ।