विराटचोक—कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गत माघ दोस्रो सातादेखि तीव्र रुपमा बढेको ट्रान्सफर्मर चोरीका घटना पछि प्रहरीले विशेष अनुसन्धान थालेको थियो। प्रदेश प्रहरी कार्यालय विराटनगर र सम्बन्धित जिल्ला प्रहरीको संयुक्त प्रयासमा ७ जना चोरीमा संलग्न र ५ जना चोरीको सामान खरिद गर्ने गरी १२ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का इरज धामी, सुनसरी दुहबी–३ का अनुज विश्वास (चौधरी), दुहबी–२ का प्रयागकुमार खाँ चौधरी, मोरङ बेलबारी–४ का अर्जुन चौधरी, बेलबारी–३ का रञ्जित तामाङ र भारत घर भई दुहबी–४ बस्दै आएका आलम मिया छन्। चोरीको सामान खरिद गर्नेमा विराटनगरका लक्ष्य प्रधान र कृष्णगोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल र कपिल भट्ट तथा इटहरीका सीताराम राई छन्।

गिरोहले योजनाबद्ध रुपमा २२ वटा ट्रान्सफर्मर चोरी गरी त्यसको तामाको तार, तेल लगायतका सामान महँगो मूल्यमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। डीआईजी ईश्वर कार्कीका अनुसार सुनसरीमा १२, मोरङमा ८ र झापामा २ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन्। गिरोहले चोरीका क्रममा प्रयोग गरेका डायल रेन्च, सलाई रेन्च, पिलास, पेचकस, छिनो, साङली, कैची, ह्याक्सो बिलेट लगायतका औजारहरु पनि प्रहरीले बरामद गरेको छ।

चोरीमा प्रयोग भएका एकवटा पिकअप गाडी र पाँचवटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। गिरोहले अहिलेसम्म २ करोड रुपैयाँ बराबरका ट्रान्सफर्मर चोरी गरिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। साउन ९ गते मोरङ रंगेली नगरपालिका–९ मा चोरीको प्रयासका क्रममा अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरीले सम्पूर्ण गिरोह पत्ता लगाएको हो।

प्रहरीका अनुसार गिरोहको गतिविधि शृंखलाबद्ध र योजनाबद्ध रहेकोले अनुसन्धानमा कठिनाइ भए पनि अन्ततः पक्राउ गर्न सफल भएको हो। चोरीका सामान किन्नेहरूमाथि पनि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।