सप्तरी — सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर–२ मा मदिरा नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजगढ गाउँपालिका–२ निवासी ३५ वर्षीय लालु यादव रहेका छन्।

मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार, नेपाल–भारत सीमा क्षेत्रबाट ठूलो मात्रामा मदिरा भण्डारण गरी तस्करी भइरहेको सूचना प्राप्त भएपछि गएराति सर्च अपरेशन चलाइएको थियो। सर्च अपरेशनका क्रममा प्रहरी र तस्कर समूहबीच झडप भएको र आत्मरक्षार्थ प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ।

चतुर्वेदीका अनुसार, तस्कर समूहले प्रहरीलाई घेरा हालेर ढुंगामुढा प्रहार गरेपछि प्रहरीले सात राउण्ड हवाई फायर गरेको थियो। तर, भीड नियन्त्रण गर्ने क्रममा चलाएको गोली लालु यादवको तिघ्रामा लाग्दा उनी घाइते भएका थिए। घाइते यादवलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

उक्त स्थानबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ। अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ भने स्थिति तनावपूर्ण बनेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।