काठमाडौं । आज बडादशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । घटस्थापना गरे सँगै नवदुर्गाका नौँ ओटा रूपको पूजा गर्ने परम्परा छ । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको पूजा आराधना गरिन्छ ।
ब्रह्मचारिणीको अर्थ जो असीम अनन्तमा विद्यमान वा गतिमान छ भन्ने हुन्छ । यस स्वरूपमा देवी कठोर तपस्या गर्ने, ब्रह्मको आचरण अर्थात् कठोर ताप सहन सक्ने हुन्छिन् । ब्रह्मचारिणी देवीले शिरमा अर्ध चन्द्र र दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमन्डलु धारण गर्छिन् । आज बिहानैदेखि देशभरका दुर्गा मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।
काठमाडौंमा रहेका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणी लगायतका देवी दुर्गाका शक्तिपीठहरूमा पनि बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ । नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ । त्यसैगरी छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।




















