विराटनगर — बाल यौनदुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका अर्थराज कोइराला पक्राउ परेका छन्। सुनसरी वराहक्षेत्र–७ का ५९ वर्षीय कोइरालालाई विराटनगरको महेन्द्रचोकबाट मंगलबार पक्राउ गरिएको हो। कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका बेला पक्राउ परेका हुन्।

सुनसरी जिल्ला अदालतले कोइरालालाई आफ्नै घरमा काम गर्ने नाबालिगमाथि यौनदुरुपयोग गरेको अभियोगमा २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। साथै पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको थियो। तर, अदालतको फैसलापछि उनी फरार थिए। लामो समयदेखि नेपाली कांग्रेसका उच्च तहका नेतासँगको पहुँचका कारण उनी कारबाहीबाट जोगिँदै आएका थिए।

सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार कोइराला अमेरिका, टेक्ससमा बस्दै आएका थिए। गत वैशाखमा नेपाल आएका बेला यौनदुरुपयोगको घटना सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। अदालतले धरौटीमा रिहा गरे पनि गत असार ३२ गते सुनसरी अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो। उनी त्यसयता पक्राउ परेका थिएनन्।

मंगलबार विराटनगर महानगरपालिका–३ स्थित रास्वपा पार्टी कार्यालयमा सभापति लामिछानेको पक्षमा हस्ताक्षर संकलन अभियान चलिरहेको थियो। त्यही क्रममा कोइरालाको उपस्थितिबारे जानकारी पाएपछि प्रहरीले उनलाई महेन्द्रचोकबाट पक्राउ गरेको हो।