काठमाडौं, १३ असोज । नेपालीहरुको घर आँगनमा नेपाली चाड दशैं भित्रिसकेको छ । तर, निरन्तरको वर्षाका कारण दशैं खल्लो बन्ने हो कि भन्ने चिन्ता सर्वसाधरणलाई छ । तर, आम नागरिकको हिले दशैं होला कि भन्ने चिन्तामा केहि राहत मिल्ने गरी आज (सोमबार) देखि क्रमशः मौसममा सुधार देखिन थालेको छ ।
मौसम पूर्ण सफा नभए पनि तुलनात्मक रूपमा आजदेखि मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छ ।
केही स्थानमा हल्का वर्षा भए पनि आगामी तीन दिनसम्म देशका धेरै स्थानमा पानी पर्ने सम्भावना नरहेको उनले बताएका छन् ।
दशैंमा मौसम कस्तो रहला भन्ने प्रश्नमा मौसमविद् श्रेष्ठले मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ७२ घण्टा अर्थात् तीन दिनसम्मको मौसम मात्र अनुमान गर्ने भएकाले त्यसभन्दा पछिको अवस्था पछि नै भन्न सकिने बताएका छन् ।
‘हामी ७२ घण्टा अर्थात् तीन दिनसम्मको मौसम अनुमान गर्छाैं, यो तीन दिनचाहिँ खासै पानी पर्ने देखिन्न, पूर्वमा पानी पारिरहेको प्रणाली पनि कमजोर बन्दै छ,’ मौसमविद् श्रेष्ठले भने, ‘दशैं (फूलपाती) आउन त अझै ९ दिन छ, मनसुन गइसकेको छैन, त्यसैले वर्षाको सम्भावना भने हुन्छ ।’
मौसमविद्का अनुसार भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापीय प्रणाली अवदाबमा परिवर्तन भएको छ । भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भूभागमा छ । यी दुई प्रणालीका कारण नेपालमा बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आइरहेको छ । सोही कारण नेपालमा मौसम बदली र वर्षा भइरहेको मौसमविद्को भनाइ छ ।
साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको एक हप्ता भइसकेको छ । तर मनसुन सक्रिय गराउने न्यून चापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद्ले बताएका छन् ।
सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ । तर केही वर्षदेखि मनसुनी गतिविधिमा फेरबदल आइरहेको छ । नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो शुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पूर्व र मध्य भूभागमा सामान्यदेखि पूर्णतया बदली रही पूर्वका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो पूर्व र मध्यका केही स्थानमा हल्का वर्षाको सम्भावना छ तर ठूलो पानी पर्ने सम्भावना छैन ।
यस्तो छ आगामी ३ दिनको मौसमी अनुमान
असोज १३ गते सोमबार
दिउँसो– देशका पूर्वी र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ । पूर्व र मध्यका एकरदुई स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ ।
राति– देशका पूर्व र मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुनेछ ।
असोज १४ गते मंगलबार
दिउँसो–देशभर आंशिक बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति– देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पूर्व र मध्य पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनेछ ।
असोज १५ गते बुधबार
दिउँसो– देशभर आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति– देशभर आंशिक बदली रही पूर्व र मध्य पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।


