काठमाडौँ — गुण्डागर्दीमा संलग्नताको आरोपमा साउन १५ गते साम्बाला होटलबाट पक्राउ परेका चक्रे मिलन ‘मिलन गुरुङ’ ले आफू नेकपा (एमाले)को पार्टी सदस्य रहेको र सामाजिक सेवामा सक्रिय रहेको बताएका छन्। उनले पार्टीका विभिन्न कार्यक्रममा सक्रिय रुपमा सहभागी हुँदै आएको दाबी गरेका छन्।

अनुसन्धान अधिकृत र सरकारी वकिलसँग दिएको बयानमा चक्रेले आफू गोरखा जिल्लाको नेकपा (एमाले) पार्टीको सदस्य रहेको र पार्टीगत विशेष कार्यहरूमा संलग्न भएको उल्लेख गरेका छन्। उनले भने, “पार्टीगत रूपमा आयोजित विशेष कार्यहरूमा सहभागी भई संयोगात्मक कार्य गर्दै आएको छु।”

साम्बाला होटलमा जन्मदिन मनाउने क्रममा प्रहरीसँग केही युवाबीच सामान्य भनाभन मात्र भएको र कुनै अभद्र व्यवहार नगरेको पनि उनले स्पष्ट पारे। “हामीले कुनै किसिमको अभद्रजन्य व्यवहार गरेका छैनौं,” उनले भने।

अनुसन्धान प्रतिवेदनमा उल्लेखित धारिलो र जोखिमयुक्त हतियार प्रदर्शन गरेको आरोप अस्वीकार गर्दै चक्रेले भने, “हतियार प्रदर्शन गरेर स्थानीयलाई गाली गलौज गर्ने, डरधम्की दिने काम मबाट भएको छैन।”

प्रहरीको कारबाहीपछि घटनाको थप अनुसन्धान भइरहेको छ।