काठमाडौं — गुण्डा नाइके चक्रे मिलन धरौटीमा छुटेलगत्तै भक्तपुर प्रहरीले उनलाई पक्राउ गरेर लैजाने तयारी गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। अभद्र व्यवहार मुद्दामा पक्राउ परेका अन्य १८ जनालाई पनि धरौटीमा छाडिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार, चक्रेलाई २०८१ भदौ ४ मा भएको कुटपिटसम्बन्धी घटनाको अनुसन्धानका लागि भक्तपुर लैजान लागिएको हो। सो घटना उनका भतिजो मनिष रायमाझीमाथि आक्रमण भएको भन्दै काका दिनेशकुमार रायमाझीले दिएको जाहेरीसँग सम्बन्धित छ।

जाहेरीअनुसार, २०८१ भदौ १० मा भक्तपुर सानोठीमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेष्टुरेन्टमा सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिहरूले रायमाझीमाथि खुकुरी प्रहार गरेका थिए। सो क्रममा दुवै कोखमा चोट लागी रायमाझी घाइते भएका थिए। घटनामा चक्रेको नामसमेत उल्लेख छ।

प्रहरीका अनुसार सोही मुद्दामा चक्रेमाथि थप अनुसन्धान हुने भएकाले उनलाई भक्तपुर लैजान लागिएको हो।