भक्तपुर — कुटपिट र ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ।
न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले शुक्रबार मिलनलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतले जनाएको छ। अदालतको आदेशपछि स्वास्थ्य परीक्षण गरेर उनलाई रिहा गर्ने तयारी भइरहेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए।
मिलन दुई दिनअघि काठमाडौंको अभद्र व्यवहार मुद्दामा ३० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। काठमाडौं अदालतबाट छुटेपछि उनलाई गत वर्षको भदौ ४ मा भक्तपुरमा भएको कुटपिट घटनामा अनुसन्धानका लागि भक्तपुर लैजाने तयारी गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दले जानकारी दिए।
भक्तपुरका मनिष रायमाझीले सामाजिक सञ्जालमा मिलनलाई ‘डुँडे’ भनेर टिप्पणी गरेपछि विवाद सुरु भएको थियो। त्यसपछि मिलनले रायमाझीलाई फोन गरेर धम्की दिएका थिए। भदौ ४ मा मिलनका सहयोगी अजित खवाससहितको टोलीले रायमाझीमाथि सांघातिक आक्रमण गरेको आरोप छ।
रायमाझीले दिएको जाहेरीको आधारमा मिलनसहित विरुद्ध मुद्दा दर्ता भएको थियो। जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ मा दर्ता भएको हो।



















