सर्लाही—सर्लाहीको हरिपुर्वा नगरपालिका–६ का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार शुक्रबार साँझ आफ्नै घरको आँगनमा छरछिमेकीसँग गफ गर्दै बसेका बेला मोटरसाइकलमा आएका दुई व्यक्तिले यादवलाई लक्षित गरी गोली प्रहार गरेका थिए। प्रत्यक्षदर्शीका भनाइअनुसार ती व्यक्तिहरूमध्ये एकले "रामपुकार को हो?" भनेर सोधेका थिए र त्यसपछि पेस्तोलबाट टाउकोमा गोली प्रहार गरेका थिए।

गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको सोनमा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको स्वास्थ्य संस्थामा पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी राईले जानकारी दिए।

गोली प्रहारपछि भाग्दै गरेका हमलाकारीमध्ये एकजना सर्लाहीकै बसन्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते परेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर जनकपुरस्थित अस्पतालमा उपचाररत राखेको छ भने अर्को व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

मृतक यादव केही समयअघि मलङ्गवास्थित एक निजी विद्यालयमा शिक्षण पेशामा संलग्न भए पनि पछिल्लो समय खेतीपाती र गाउँघरमा ऋण लगानीको काम गर्दै आएका थिए।