जनकपुरधाम — बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटनामा पक्राउ परेका छन्।

पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहा नेतृत्वको समूहले वडा कार्यालयमै बन्धक बनाएर अर्धनग्न पार्दै हातखुट्टा बाँधेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको हो।

घटना गत २८ साउनमा भएको प्रहरीले जनाएको छ। पीडित यादवका अनुसार परीक्षा अभ्यासका लागि प्रश्नपत्रको फोटोकपी गराइरहेको समयमा केही व्यक्तिले आफूलाई समातेर वडा कार्यालयमा लगेका थिए।

“वडाध्यक्षले नलकटुवा देखाएर भित्र बस्न बाध्य पारेर कुटपिट गरे। हातखुट्टा बाँधेर ३/४ जनाले लात्ती घुँसाले हाने,” यादवले भने। उनका अनुसार वडाध्यक्ष मादक पदार्थ सेवन गरेका थिए र आठजना समूहमा बसेर रक्सी खाँदै आफूमाथि हमला गरेका थिए।

यादवले वडाध्यक्षले जबर्जस्ती कागजमा हस्ताक्षर र औंठाछाप गराएको र “मारेर फालिदिन्छु” भन्ने धम्कीसमेत दिएको आरोप लगाएका छन्।

घटनापछि पीडित यादवले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए। जाहेरीको आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ।

गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालका अनुसार जाहेरी परेपछि तत्काल प्रहरीको टोलीले वडाध्यक्षलाई नियन्त्रणमा लिएको हो।

कुशवाहा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। घटना सार्वजनिक भएपछि माओवादी केन्द्रले उनलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको जनाएको छ।