काठमाडौँ —रामेछाप जिल्ला कारागारमा बिहीबार बिहान कैदीबन्दीहरूले सामूहिक रूपमा भाग्ने प्रयास गर्दा सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, सेनाको गोली लागेर १४ जना कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये २ जनाको रामेछाप अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र बाँकी १२ जनाको उपचार भइरहेको छ।
प्रजिअ थापाले भने, “कैदीबन्दीहरूले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कन खोजेका थिए। मुख्य गेटको ताला समेत तोड्न खोजेपछि सेनाले गोली चलाउन बाध्य भयो।”
मृत्यु हुने २ कैदीबन्दीमध्ये एक जना कर्तव्य ज्यानको मुद्दामा र अर्को जबर्जस्ती करणी तथा मानव बेचबिखनको मुद्दामा सजाय भोगिरहेका थिए।
रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित जिल्ला कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी छन्। सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागार नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको जनाएको छ।
हालै देशभर विभिन्न कारागारमा कैदीबन्दी भाग्ने घटना बढिरहेका बेला, रामेछाप तुलनात्मक रूपमा शान्त रहेको मानिन्थ्यो। तर बिहीबार बिहानको सामूहिक भाग्ने प्रयासले सुरक्षाकर्मीलाई गोली चलाउन बाध्य बनाएको बताइएको छ।



















