काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन्।

कारागार प्रशासनका अनुसार रायमाझीले फोनमार्फत आफू आउन इच्छुक रहेको जानकारी दिएका हुन्। “ठीक छ, सम्पर्कमा रहनुहोस्, परिस्थिति अनुसार खबर गर्छौं,” प्रशासनले प्रतिक्रिया दिएको छ।

रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए, जहाँ हालैको घटनामा ३८ सय कैदीमध्ये करिब ३३ सय जना फरार भएका थिए। सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ पनि त्यहीँबाट भागेका थिए।

केही फरार कैदीहरू फर्किसकेका छन् भने केही फर्कने तयारीमा छन्। नक्कली शरणार्थी प्रकरणमै पुर्पक्षका लागि थुनामा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि कारागार फर्कन इच्छुक भएको सन्देश पठाएका छन्।

मंगलबार राति नख्खु कारागारबाट निस्केका कैदीहरूले सुन्धारामा तोडफोड गरेका थिए। सुरक्षाका लागि खटिएको प्रहरी पछि हटेपछि नेपाली सेनाले कारागार नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको हो।