काठमाडौँ— नेकपा (माओवादी केन्द्र)ले जेनजीको आन्दोलनका क्रममा भएका हिंसा र तोडफोड घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने जोड दिएको छ।

शुक्रबार पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र अग्नि सापकोटाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा अप्राकृतिक गठबन्धनमा रहेको अहंकार, नालायकी र कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाइएको छ।

पार्टीले आन्दोलनभित्र प्रतिगामी तत्वहरूले तोडफोड, आगजनी र विध्वंस गर्दै बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रयास गरेको पनि उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकांक्षा, इमान्दार सोच र परिवर्तनप्रतिको दृढ चाहना यो आन्दोलनले प्रकट गरेको छ। जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका ऐतिहासिक बलिदानीपूर्ण आन्दोलनहरूको निरन्तरता आजको आन्दोलनमा पनि देख्न सकिन्छ।”

माओवादी केन्द्रले संविधान कार्यान्वयन र सरकार सञ्चालनमा भएका कमीकमजोरी स्वीकार गर्दै गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीले संघीय संसदमार्फत आवश्यक कानून निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने वैधानिक मार्ग अपनाउनुपर्ने र आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेटेर नयाँ सरकार निर्माण गर्नु उत्तम विकल्प भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा नयाँ सरकारको पहिलो प्राथमिकतामा स्वच्छ र निष्पक्ष निर्वाचन, ध्वस्त संरचनाको पुनर्निर्माण र सुशासनमार्फत नागरिकमा आशा जगाउने काम गर्नु पर्ने पनि जोडिएको छ। साथै आन्दोलनका क्रममा जीवन गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।