काठमाडौँ — जेन-जी आन्दोलनपश्चात उत्पन्न अस्थिरता र हिंसाप्रति चार महिला संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरी जनसमुदायलाई सचेत रहन र धैर्य धारण गर्न आग्रह गरेका छन्।

नेपाल महिला संघ, अखिल नेपाल महिला संघ कोशी प्रदेश, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोशी प्रदेश र अखिल नेपाल महिला संघ (समाजवादी) कोशी प्रदेश कमिटीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै हालको घटनाक्रमले मुलुकलाई थप संकटतर्फ धकेल्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “सामाजिक अशान्ति, महिलामाथि हुने हिंसा र देशमा भ्रम फैलाउने प्रयासप्रति सतर्क रहौं। जनसमुदायले धैर्य धारण गरोस् र हिंसात्मक गतिविधि रोकौं।”

भदौ २४ गते संसद भवन, राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, प्रदेश सभा र स्थानीय तहका कार्यालयहरूमा भएको तोडफोड र आगजनीले मुलुकको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महिला संघहरूले भदौ २३ देखि सुरु भएको जेन-जी आन्दोलनका मागहरूलाई सम्बोधन गर्न सरकार र सम्बन्धित पक्षलाई संवैधानिक प्रक्रिया र लोकतान्त्रिक अभ्यासमार्फत समाधान खोज्न आग्रह गरेका छन्। साथै आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै विदेशी शक्तिहरूको सम्भावित षड्यन्त्रप्रति सजग रहन अपिल गरेका छन्।

संयुक्त विज्ञप्तिमा अखिल नेपाल महिला संघ कोशी प्रदेशकी अध्यक्ष सृजना राई, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोशी प्रदेशकी अध्यक्ष लक्ष्मी न्यौपाने (लता), अखिल नेपाल महिला संघ (समाजवादी) कोशी प्रदेशकी अध्यक्ष पदम कुमारी गुरुङ र नेपाल महिला संघ मोरङकी अध्यक्ष शान्ता पौडेलको हस्ताक्षर रहेको छ।


download