बुटवल – प्युठानको झिमरुक गाउँपालिकामा कार्यरत एक कर्मचारीले आफ्नै कार्यालयमा आगो लगाएका छन्। गाउँपालिकामा रोजगार संयोजकका रूपमा कार्यरत सुदर्शक जिसीले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कक्षमा आगजनी गरेका हुन्। साथै उपाध्यक्ष प्रमोद पोखरेलको कार्यकक्षमा पनि तोडफोड भएको छ।

गाउँपालिका कार्यालय नजिकै कोठा भाडा लिएर बस्दै आएका जिसीले शुक्रबार राति आगो लगाएका थिए। उनी अघिल्लो सरकारको पालादेखि नै गाउँपालिकामा करारमा कार्यरत छन्। आगलागी गरेपछि जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले भने, “नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। गाउँपालिकाले किटानी जाहेरी दिने निर्णय गरेपछि कानुनअनुसार कारबाही हुनेछ।”

कार्यालयकै कर्मचारीले आगो लगाएपछि अन्य कर्मचारीहरूमा पनि त्रास व्याप्त भएको प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्यालले जनाइन्।

गाउँपालिका आइतबार बिहान साढे ७ बजे बस्ने बैठकमा आगो लगाउने कर्मचारीमाथि कारबाही गर्ने निर्णय गरिने जनाएको छ। प्रहरी नायब उपरीक्षक बस्यालका अनुसार, आइतबारसम्म गाउँपालिकाको निर्णयको पर्खाइ रहनेछ।