काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूले पार्टी नछाडेको स्पष्ट पारेकी छिन्।
रास्वपाकी अर्की नेतृ सुमना श्रेष्ठले आजै पार्टी परित्याग गरेपछि तोसिमाले पनि राजीनामा दिने तयारी गरिरहेको भन्ने खबर बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
‘तोसिमा कार्कीले पार्टी छोड्यो भनेर समाचार बनाउन भ्याइसक्नु भएछ,’ उनले लेखेकी छन्, ‘कम्तिमा मेरो बारेमा लेख्दा मलाई त सोध्ने गर्नुस्। मैले पार्टी छोडेको छैन।’
देश हाल विक्षिप्त अवस्थामा पुगेको भन्दै उनले हरेक नागरिकले आफ्नो भूमिकाबारे गम्भीर भएर सोच्नुपर्ने समय आएको टिप्पणी गरिन्।
‘तोसिमाले के गर्छ या गर्दैन भन्ने चिन्ता लिनुको साटो, देश यस्तो विक्षिप्त अवस्थामा पुगेको छ, आफूले के गर्न सक्छु भनेर सोच्नुहोला,’ उनले थपेकी छन्।
रास्वपाकी नेतृ सुमना श्रेष्ठले आजै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी थिइन्। उनको राजीनामापछि अन्य असन्तुष्ट नेताहरू पनि बाहिरन सक्ने आशंका गरिएको छ।




















