काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्री नियुक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएकी छन्। त्यस्तै, पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।
अर्याल पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकारका रूपमा चर्चित छन्। खनाललाई अनुभवी अर्थसचिवका रूपमा चिनिन्छ।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको सिफारिस शीतलनिवासमा पेश गरिसकेकी छन्। नवनियुक्त मन्त्रीहरूले भोलि सोमबार शपथ ग्रहण गर्ने शीतलनिवास स्रोतले जनाएको छ।




















