काठमाडौं — जेनजी आन्दोलनमा काठमाडौँ महानगरपालिका मेयर तथा पूर्व र्यापर बालेन साह र ‘हामी नेपाल’का संस्थापक तथा पूर्व डिजे सुदन गुरुङको भूमिकाप्रति नेपाली र्याप (नेपहप) समुदायले प्रश्न उठाउन थालेका छन्।
नेपाली र्यापका लिजेन्ड भनिने मानस घलेले सामाजिक सञ्जालमार्फत बालेन र सुदनलाई ‘देश विकास गर्छु’ भन्ने सामान्य नारा भन्दा बाहिर गएर स्पष्ट र दीर्घकालीन योजना सार्वजनिक गर्न चुनौती दिएका छन्।
"कल्पना गर कि तिमीहरू नै प्रधानमन्त्री भयौ भने त्यसपछि गर्छौ के?" घलेले लेखेका छन्, "म देश विकास गर्छु भन्नेबाहेक गम्भीर जवाफ देऊ।"
सुदनलाई उनले आफ्नो प्रस्तुति शैलीमा संयमता अपनाउन सुझाव दिएका छन्। "थर्काएर र ठूलो स्वरमा चिच्याएर अरुलाई हेपेर नबोल, मन जति शुद्ध भए पनि बोलीले फरक पार्छ," घलेले भनेका छन्, "तिमी अलि बढी उत्तेजित भइरहेको सबैले देखिरहेका छन्, गर्ने नै भए कानुनी हिसाबले गर, यसरी सबैलाई थर्काएर नगर।"
नेपहप वृत्तमा यो विषयमा व्यापक बहस भइरहेको छ र धेरैले जनप्रतिनिधि र नागरिक आन्दोलनका अगुवाहरूबाट स्पष्ट भिजन र व्यवहारिक योजना अपेक्षा गरिरहेका छन्।
-जन आस्था




















