काठमाडौं — विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारप्रति आपत्ति जनाएको छ। पार्टीले यो सरकार जेन–जी आन्दोलनको अपेक्षाविपरीत बनेको भन्दै गम्भीरतापूर्वक नियाल्ने चेतावनी दिएको छ।
मंगलबार जारी विज्ञप्तिमा महासचिव विप्लव सीले "विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको" बन्न पुगेको उल्लेख गर्दै सरकारको बनोटप्रति विरोध दर्ज गरेका छन्। विज्ञप्तिमा भनिएको छ, "अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज र संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय हुनुपर्ने हाम्रो मागलाई बेवास्ता गरिएको छ। कसको दबाबमा यो बनोट भयो भन्ने प्रश्न अझै रहस्यपूर्ण छ।"
विप्लवले भ्रष्टाचार, राष्ट्रघात र दलालीविरुद्ध वर्षौंदेखि संघर्ष गरिरहेका शक्तिहरूलाई उपेक्षा गर्नु संक्रमणकाललाई लम्ब्याउने काम मात्र भएको टिप्पणी गरे। उनले राज्य पुनर्संरचना र संविधान पुनःलेखनको आवश्यकता दोहोर्याउँदै "पुरानो राज्य प्रणालीलाई यथावत राखेर निकास सम्भव छैन" भनेका छन्।
पार्टीले जनतालाई राज्यको अग्रगामी रूपान्तरण र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सचेत रहन विशेष अपिल गरेको छ। "हाम्रो पार्टी देशको स्वाधीनता, आत्मनिर्भरता, जनअधिकार र नेपाली विशेषताको समाजवादको पक्षमा डटिरहनेछ," विज्ञप्तिमा भनिएको छ।





















