सुनसरी— धरान उपमहानगरपालिकामा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटनाप्रति स्थानीय राजनीति दह र पीडितहरूले कडा कारवाहीको माग गरेका छन्।
धरानका पूर्वमेयर मनोज मेन्याङबोले आफ्नै कञ्चनजङ्गा होटलमा भएको आगजनी र तोडफोड, करिब ६ लाख रुपैयाँ नगद लुटिएको घटनाप्रति १२ जना प्रतिवादीविरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। आगजनीको क्रममा तस्बिर र भिडियो प्रमाणका आधारमा संलग्नको पहिचान भएको उनले बताएका छन्।
सोही दिन धरानमा नेपाली कांग्रेस, माओवादी केन्द्रका कार्यालय, भाटभटेनी सुपरमार्केट, एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताका घरमा पनि आगजनी भएको थियो।
धरानका निवर्तमान मेयर तिलक राईले घटनामा संलग्न सबैको पहिचान गरी पक्राउ र कानुनी कारबाहीको माग गरेका छन्। सबै राजनीतिक दलहरूले पनि निष्पक्ष छानबिन गरेर दोषीलाई कानुनअनुसार कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले दुई जनाले आत्मसमर्पण गरेका बताए र आगजनीमा संलग्न सबैलाई पक्राउ गरी कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।



















