काठमाडौं — आज नेपालभरका कालीगढहरूले विश्वकर्माको पूजा आराधना गर्दै वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइरहेका छन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विधिपूर्वक मनाइने यस पर्वमा विभिन्न कलकारखानामा विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गरी उत्सव मनाउने परम्परा रहेको छ।
कलकारखानाहरू विशेष रूपमा सजाइन्छ र मजदुरसमेत सहभागी हुन्छन्। पूजा पश्चात बालुवा वा अन्य सामग्रीबाट बनेको विश्वकर्माको मूर्ति नदी वा शुद्धस्थलमा लगेर सेलाउने चलन छ। आजको पूजा पछि बिहीबारदेखि मूर्ति सेलाइने व्यवस्था गरिन्छ।
विश्वकर्मा पूजा गर्ने धार्मिक विश्वास अनुसार, आजका दिन प्रयोगमा आउने औजार, यन्त्र, सवारीसाधन र उपकरणमा पूजा गर्दा ती टिकाउ, प्रयोगयोग्य र राम्रो काम गर्ने हुने विश्वास गरिन्छ।
धार्मिक ग्रन्थ अनुसार, द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरूले दुःख दिएका बेला विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी सुरक्षित राखेका थिए। त्यसैले विश्वकर्मालाई सफल वास्तुविद् मानिन्छ। वास्तुशास्त्रविद् शिव पोखरेलका अनुसार, ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्र ग्रन्थको रचना पनि विश्वकर्माले गरेको विश्वास गरिन्छ।
नेपालमा वास्तु विद्याको पुनर्जागरणसँगै आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा पनि मनाउने चलन बढ्दै गएको छ। यस पर्वमा इञ्जिन जडान भएका यन्त्र तथा सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ, जसले प्रयोगकर्तामा विश्वकर्माको गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ।



















