धनगढी— कैलालीको गोदावरी नगपालिका वडा नम्बर १ मा रहेको नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्टको घर जलाउनेमा एमाले र राप्रपाका नेताको संलग्नता रहेको पाइएको छ। नेता भट्टको घर जालाउन एक जना सरकारी कर्मचारी समेत पुगेको तथ्य खुलेको छ।
एमाले सचिव भट्टको घर भदौ २४ गते जलाइएको थियो। जेन्जी आन्दोलनमा घुसपैठ गरी घर जलाइएको नेता भट्टका भाइ गोकर्ण भट्टले बताए । भट्टले आफ्ना दाजुको दुई वटा घर, ट्याक्टर, अनाज र लत्ताकपडामा आगजनी गरिएको जानकारी दिए ।
उनले घरमा आगजनी गर्नुभन्दा अगाडि लुटपाट गरिएको बएका छन् । उनले भाउजूको २२ तोला सुनको गरगहना, तीन लाख नगद र अन्य जिन्सी मालसमानसहित पाँच करोडभन्दा बढीको क्षति भएको बताएका छन्। भट्टले जेन्जी आन्दोलनकारीको नाममा ३० वर्षभन्दा माथिको व्यक्तिहरूले लुटपाट, तोडफोड र आगजनी गरेको जानकारी दिए ।
‘दाजुको घरमा लुटपाट तथा आगजनीमा नेकपा एमाले कैलाली जिल्ला लेखा समितिका सदस्य बालकृष्ण भट्टराई, राप्रपाका स्थानीय नेता दुर्गा पोखरेल र कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका हलुका सवारी चालक वामदेव अवस्थी रहेको कुरा हामीले पहिचान गरिसकेका छौँ,’ उनले भने, ‘स्थानीय युवा रोहन बिष्टले भिडियो बनाउँदै लुटपाट र आगजनी गरेको देखिएको छ।
यो समूहले नै गोदावरीका मेयर वीरेन्द्र भट्टको घरमा पनि लुटपाट र आगजनी गरेको थियो ।
जनता टाइम्स बाट



















