राजनीति अब केवल शब्द र घोषणा मात्रले चल्ने समय होइन । हालैका घटनाहरूले देखाए—देशभरि जलेका पार्टी कार्यालय, सरकारी भवन, विद्यालय, सडक र सार्वजनिक संरचना । जनताको पीडा अझै ताजा छ ।
यस्तो अवस्थामा केही नेता आफ्नो कार्यालयको खरानी माथि ठूला भवन बनाउने वा सडकमा जनसङ्ख्या जुटाएर शक्ति प्रदर्शन गर्ने घोषणामा व्यस्त छन् । तर प्रश्न उठ्छ अब चुनावको मिति तय भइसक्यो, जनताको माझमा जानै पर्छ । तर अहिले अनुहारमा यस्तो दाग लागेको छ —कुन साबुनले मुख धोएर जनताको घरदैलोमा जानुहुन्छ ?
जनताको विश्वास केवल मुखमा सफा शब्द र प्रदर्शनले फिर्ता आउँदैन । यो विश्वास भनेको संवेदनशीलता, सहानुभूति र व्यवहारमा प्रतिबद्धताबाट बनाउँन सकिन्छ । जनताले भोगिरहेको वास्तविक पीडामा साथ नदिई शक्ति प्रदर्शन गर्न गएका नेता, केवल ढोका–ढुङ्गा र भित्तामा इज्जत खोज्छन्, जनताको मनमा होइन ।
साँचो नेतृत्व भनेको जनताको घरदैलोमा पुगेर सुन्नु, बुझ्नु र सहयोग गर्नु हो । शब्दले मात्र मुख सफा हुँदैन—काम र जिम्मेवारीले मात्रै जनता मनमा स्थान बनाउँछ ।
आज जरुरी छ—भवन भन्दा पहिले विश्वास, घोषणा भन्दा पहिले संवेदनशीलता, शक्ति प्रदर्शनभन्दा पहिले जनता सेवा । दुखेका जनताको मनमा सान्त्वना । सहिद परिवारसँग माफी र अब गल्ती नगर्ने प्रतिबद्धता । तब मात्र अनुहारमा छ्यापिएको हिलोले बसालेको दाग अलिकति भएपनि छोपिनेछ । पाप पखालिनेछ र जनताको बिचमा उभिँदा शिर निहुराउनुपर्ने छैन । पुर्णरुपमा शिर उठाएर आँखा जुधाएर रवाफका साथ बोल्न भने केही समय लाग्ने नै छ ।



















