काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् आज बस्दैछ। बैठकको समय भने तय भएको छैन।
बालुवाटार स्रोतका अनुसार आजको बैठकले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएको दमन, मृत्यु र क्षतिको छानबिनका लागि आयोग गठनबारे छलफल गर्नेछ।
एक सातापछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा हाल प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, सहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल मात्र सदस्य छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। सार्वजनिक तथा निजी सम्पत्तिमा अर्बौँको क्षति भएको छ। आन्दोलनको पहिलो दिन काठमाडौँमा मात्रै १७ जना र इटहरीमा २ जनाको ज्यान गएको थियो।
तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबेला सरकारले गोली चलाउन आदेश नदिएको र उनीहरू प्रहरीको गोलीबाट नभई अन्यकै हतियारबाट मारिएको गम्भीर र रहस्यमय दाबी गरेका छन्।
नेकपा एमालेका नेताहरूले पनि घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका छन्।




















