काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा अन्धाधुन्ध गोली प्रहार गरी निहत्था नागरिकको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई मुख्य दोषी ठहर गर्दै कानुनी कारबाही माग गरेको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले दुवै व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउन र जनधनको अपार क्षतिको विषयमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई आग्रह गरेको हो।
समाजले सो आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, प्रेस र नागरिकका निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
‘आन्दोलनरत पक्ष स्वयम्ले घुसपैठका कारण यस्ता घटना घटेको बताइसकेको अवस्थामा अपराधी पहिचान गरी कारबाही नगरे यो प्रवृत्ति संस्थागत भई बारम्बार दोहोरिने खतरा रहन्छ,’ विज्ञप्तिमा भनिएको छ।
समाजले पूर्वविशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइँदै आएको सेवा–सुविधा कटौती गर्न, ध्वस्त संरचनाको पुनर्निर्माणका लागि सबै क्षेत्रबाट योगदान गर्न र पुनर्निर्माण मन्त्रालय गठन गरी आगामी दशकलाई ‘पुनर्निर्माण दशक’ घोषणा गर्न समेत सुझाव दिएको छ।
यसैगरी समाजले प्रहरीलगायत नागरिक प्रशासन तत्काल प्रभावकारी बनाइ सेवा प्रवाह चुस्त दुरुस्त गर्न, संवैधानिक तथा न्यायिक निकायमा राजनीतिक भागबण्डामा नियुक्त व्यक्तिहरूलाई मार्ग प्रशस्त वा पदमुक्त गराउन आग्रह गरेको छ।
अन्त्यमा, अन्तरिम सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई समयमै सत्ता हस्तान्तरण गर्नुपर्ने समाजको जोड रहेको छ।




















