काठमाडौं—नेकपा एमालेका पूर्व सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी सुन्धारास्थित कारागारमा फर्किएका छन्। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थिए।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अन्य कैदीसँगै रायमाझी पनि सुन्धारा कारागारबाट फरार भएका थिए। सोही प्रकरणमा फरार भएका पूर्व गृहसचिव टेकनारायण पाण्डे भने अझै फेला परेका छैनन्।
कारागार प्रशासनका अनुसार सोही घटनामा फरार भएका सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) समेत बुधबार नै कारागार फर्किएका छन्।
भदौ २४ गतेको जेनजी आन्दोलन उग्र बन्दा देशभरका धेरै कारागारबाट करिब साढे १४ हजार कैदीबन्दी फरार भएका थिए। तीमध्ये करिब आधा कैदीबन्दी आफैं फर्किएका छन् भने बाँकी अझै फरार रहेका कारागार प्रशासनले जनाएको छ।



















