काठमाडौं – जेनजी आन्दोलनको क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पौडेललाई पक्राउ गरेको हो। यससँगै महाराजगञ्जमा भएको प्रहरी हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ। यसअघि काभ्रे घर भएका युवराज क्याप्छाकी पक्राउ परेका थिए।
महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गर्दै गरेको उनीहरूको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गर्दै पक्राउ गरेको हो। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
२४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको कुटपिट गरी हत्या गरिएको थियो। राय सिन्धुलीका हुन् भने थापा दार्चुलाका थिए। भिडियोमा पौडेलले ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै लट्ठी प्रहार गरी थापाको हत्या गरेको देखिन्छ।
त्यस्तै सोही आन्दोलनमा प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या भएको थियो।



















