काठमाडौं— नेकपा (एमाले)का नेता द्वारिकालाल चौधरीले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट विश्राम दिनुपर्ने बताएका छन्। उनका अनुसार एमालेको पुनर्गठन नभएसम्म वर्तमान अवस्थामा ओलीको नेतृत्वमा पार्टीलाई जनतामाझ लैजान सकिँदैन।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै चौधरीले भने, “ओली अध्यक्षबाट किनारा नलागे आगामी फागुन २१ गते हुने निर्वाचनमा एमाले सहभागी हुन सक्दैन। त्यसैले अहिले नै ओलीले राजीनामा दिनुपर्छ, नत्र हटाउनुपर्छ।”
उनका अनुसार ओलीले पद छोडेमा पार्टी पुनर्गठनको स्पष्ट सन्देश जाने, जनतामा सकारात्मक प्रभाव पार्ने र जेनजी आन्दोलनले देखाएको सन्देशलाई सम्बोधन गर्न सहयोग पुग्नेछ। उनले ओलीले पार्टीभित्र मात्र होइन, देश र जनताबाट पनि विश्वास गुमाइसकेकाले अब मुल नेतृत्वमा रहन नसक्ने दाबी गरे।
चौधरीले भने, “पार्टीभित्र आएको संकट समाधान गर्न, लोकतन्त्रलाई सम्मान गर्न र अन्तरपार्टी जनवादलाई व्यवहारमा उतार्न ओलीले राजीनामा दिनुपर्छ। मार्ग प्रशस्त नगरे बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय कमिटीको बैठकको अध्यक्षता गरेर ओलीलाई पदमुक्त गर्नुपर्छ।”
उनले बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा वर्तमान केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक कमिटी गठन गर्नुपर्ने बताए। सचिव, महासचिव र उपाध्यक्षहरूको उमेर ४५ देखि ६० वर्षबीच भएकाले तत्काल नेतृत्व हस्तान्तरण गर्न नसकिए पनि पार्टीलाई सुदृढ बनाउन पुनर्गठन जरुरी रहेको उनको भनाइ छ।
ओलीलाई देवत्वकरण गर्ने वा अन्धानुयायी बन्न खोज्ने प्रवृत्तिले संगठन विस्तार गर्न नसकेको चौधरीको आरोप छ। उनका अनुसार अझै ओलीको जय-जयकारमा अड्किने नेताहरूका कारण एमाले निर्वाचनमै सहभागी हुन सक्ने स्थिति छैन।
यस्तै, उनले अहिलेको अन्तरिम सरकारलाई सबैले सहयोग गरेर निर्वाचन सम्पन्न गर्नुपर्ने र सरकारले पनि ढिलाइ नगरी नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए।
समय र जेनजी पुस्ताको मागअनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था संविधानमा नभएकाले हालको संविधान खारेज गरी अन्तरिम संविधान जारी गर्नुपर्नेमा पनि चौधरीले जोड दिए।




















