काठमाडौं — जेन-जीका प्रदेश–१ संयोजक उपार्जुन चाम्लिङले खबरहबले प्रकाशित गरेको समाचारलाई निराधार र चरित्रहत्या गर्ने प्रकृतिको आरोप लगाउँदै कडा आपत्ति जनाएका छन्।
असोज १० गते खबरहबले “उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरहेका थिए जेन-जीका कोशी संयोजक” शीर्षकमा प्रकाशित समाचारमा आफूलाई हिंसात्मक गतिविधिमा संलग्न भएको भनी आरोप लगाइएको भन्दै चाम्लिङले उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै खण्डन गरेका हुन्।
“सो समाचार पूर्णत: निराधार, मनगढ़न्ते र तथ्यहीन छ। म सो घटनामा कतै संलग्न छैन र त्यस्तो कुनै गतिविधिमा मेरो भूमिका रहेकै छैन,” विज्ञप्तिमा भनिएको छ। चाम्लिङका अनुसार प्रमाणविहीन दाबी प्रकाशन गरेर खबरहबले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र पेशागत जीवनमाथि गम्भीर धक्का पुर्याएको छ।
उनले संविधानले सुनिश्चित गरेका मौलिक अधिकार, पत्रकारिता आचारसंहिता र तथ्यपरक पत्रकारिताको मूल्यमान्यतालाई खबरहबले बेवास्ता गरेको आरोप लगाउँदै तत्काल समाचार सच्याउन, आफ्नो नाम खण्डनसहित सार्वजनिक माफी माग्न र भविष्यमा यस्ता मानहानिकारक सामग्री प्रकाशित नगर्ने प्रतिबद्धता जनाउन माग गरेका छन्।
चाम्लिङले यस घटनाबारे प्रेस काउन्सिल नेपाललगायतका निकायमा उजुरी दर्ता गर्ने र आवश्यक कारबाहीको माग गर्ने चेतावनी पनि दिएका छन्। उनका अनुसार प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङसँग समेत परामर्श भइसकेको छ। यदि स्वेच्छाले सुधार नगरेमा प्रचलित दण्ड संहिता तथा अन्य कानुनी प्रावधानअनुसार मानहानिको मुद्दा दायर गरी क्षतिपूर्ति दाबी गर्ने उनको चेतावनी छ।
विज्ञप्तिमा उनले मित्र, शुभेच्छुक र पाठकसमक्ष आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नभएको स्पष्ट पार्दै, “ जेन-जी आन्दोलनलाई बदनाम र असफल बनाउन लागि पर्ने गिरोहलाई पहिचान गरी त्यसविरुद्ध डटेर लाग्न सम्पूर्ण क्रान्ति पक्षधरहरुलाई आग्रह गर्दछु,” भनेका छन्।




















