जाजरकोट—जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार बेलुकी हतियारधारी समूहले आक्रमण गरेको छ।
गाउँपालिका उपाध्यक्ष देविकाकुमारी सिंहका अनुसार दसैँ मनाउन सुर्खेततर्फ जाँदै गरेका अध्यक्ष बस्नेतमाथि छेडागाड नगरपालिका–५ को थलह बजार र मनघाटबीच आक्रमण भएको हो।
मोटरसाइकलमा सवार अध्यक्ष बस्नेत र उनका सहयात्रीलाई ३–४ जनाको समूहले खुकुरीसहित आक्रमण गरेको उपाध्यक्ष सिंहले जानकारी दिइन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी वसन्तकुमार शर्माका अनुसार घटनामा अध्यक्ष बस्नेतसहित दुई जना घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार दुई वटा मोटरसाइकलमा आएका अपरिचित आक्रमणकारीहरू हाल फरार छन्।
घाइतेहरूको उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ।



















