काठमाडौं — चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार भ्रष्टाचार प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए।
अदालतले ताङलाई दुई वर्षको समयावधि दिने निर्णय गरेको छ। यसबाहेक उनको सम्पूर्ण सम्पत्ति जफत गरिने र घुसमार्फत संकलन गरिएको सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिने आदेश दिइएको छ। साथै, उनलाई राजनीतिक अधिकारहरूबाट समेत वञ्चित गरिएको छ।
अदालतले घुसप्रकरणले देश र जनताको हितमा ठूलो क्षति पुर्याएको भन्दै मृत्युदण्डको सजाय सुनाएको हो। सिन्ह्वाका अनुसार, ताङले आफ्ना अपराध स्वीकार गरेका छन् र पश्चाताप पनि व्यक्त गरेका छन्।
यो फैसला राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरुद्धको अभियानसँग जोडिएको बताइएको छ। यसअन्तर्गत अहिलेसम्म उच्च तहका धेरै नेताहरूलाई कारबाही भइसकेको छ। समर्थकहरूले यो अभियानलाई स्वच्छ शासनको अभ्यासका लागि आवश्यक भनेका छन् भने आलोचकहरूले यसलाई सीले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने हतियारका रूपमा प्रयोग गरिरहेको टिप्पणी गरेका छन्।
ताङ यसअघि गान्सु प्रान्तका गभर्नर र ग्वाङ्सी स्वायत्त क्षेत्रका उपाध्यक्ष समेत रहिसकेका थिए। उनका पछि पूर्व रक्षा मन्त्रीहरू ली शाङफु र वेई फेङहे पनि भ्रष्टाचार अनुसन्धानको दायरामा परेका छन्।



















