काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिमका बीच नागरिकलाई सुरक्षित र सावधान रहन आग्रह गरेकी छन्।

देशवासीको नाममा जारी भिडियो सन्देशमार्फत उनले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता भएको स्पष्ट पार्दै विपत्तिको समयमा राज्यका सम्पूर्ण स्रोत नागरिकसँगै हुने आश्वासन दिएकी छन्।

‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिनुहोस्,’ प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘तपाईंहरूको सुरक्षा नै हाम्रो चिन्ता हो। आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्। तपाईं यसमा एक्लो हुनुहुन्न।’

उनले निरन्तर वर्षाका कारण नदी–नालाको बहाव खतराको तहमा पुगेको र धेरै स्थानमा पहिरोको जोखिम उच्च रहेको जानकारी गराउँदै परिस्थिति अझ चुनौतीपूर्ण बन्न सक्ने बताइन्।

प्रधानमन्त्रीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन तथा अन्य सेवादायी निकायहरू उद्धार र राहतका लागि २४ सै घण्टा तयारी अवस्थामा छन्। साथै, राजमार्ग र पूर्वाधारको निरन्तर निगरानी भइरहेको पनि उनले बताइन्।

‘यो कठिन समयमा सबै सरकारी निकाय उच्च मनोबलका साथ विपत्तिविरुद्ध खटिएका छन्,’ उनले भनेकी छन्, ‘नागरिकलाई सुरक्षित रहनुका साथै अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्न आग्रह गर्दछु।’