काठमाडौं—नेपाली कांग्रेसका सभापति गगन थापाको निवास, विभिन्न सञ्चारमाध्यम र सुपरस्टोर अगाडि बेवारिसे अवस्थामा छाडिएका सवारीसाधनबारे प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ। शंकास्पद अवस्थामा भेटिएका यी गाडीहरूमा कुनै पनि विस्फोटक वा अन्य शंकास्पद वस्तु भने नभेटिएको प्रहरीले स्पष्ट पारेको छ।
सोमबार रातोपुलस्थित कांग्रेस सभापति थापाको घर, थापाथलीस्थित कान्तिपुर, बुद्धनगरस्थित अनलाइन खबर, मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन र अनामनगरस्थित भाटभटेनी सुपरस्टोर अगाडि सवारी आवागमन नै प्रभावित पार्ने नियतका साथ ती गाडीहरू पार्किङ गरिएका थिए।
यातायात व्यवस्था कार्यालय स्रोतबाट प्राप्त सूचनाका आधारमा केही गाडी र तिनका धनीहरूको पहिचान भइसकेको छ। जसअनुसार कान्तिपुर अगाडि राखिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालको र हिमालय टेलिभिजन अगाडि राखिएको गाडी अग्नि इन्कर्पोरेटेड प्रालिको नाममा रहेको पुष्टि भएको छ। यद्यपि, यस विषयमा प्रहरीले औपचारिक रूपमा जानकारी भने खुलाइसकेको छैन।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले हाइप्रोफाइल व्यक्ति र संस्थाहरूको अगाडि गाडी राखेर सर्वसाधारणमा त्रास फैलाउने प्रयास गरिएको हो कि भन्ने कोणबाट अनुसन्धान गर्दा त्यस्तो कुनै मनसाय नपाइएको बताएका छन्। तर, सडकमा सवारी आवागमनमा अवरोध पुर्याएका कारण थप अनुसन्धान र आवश्यक कारबाहीका लागि ती गाडीहरूलाई रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको छ। अहिले गाडी धनी, चालक र ती ठाउँमा गाडी राखिनुको कारणबारे ट्राफिक प्रहरीले नै अनुसन्धान गरिरहेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार, यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी गाडी धनी वा यस कसुरमा संलग्न व्यक्तिहरूको पूर्ण पहिचान गरिनेछ। उनीहरूमाथि यातायात व्यवस्था ऐन २०४९ बमोजिम आवश्यक कारबाही हुने सुवेदीले जानकारी दिएका छन्।




















