काठमाडौँ — देशभर मनसुनी वर्षा तीव्र बनेको छ भने तराईका जिल्लामा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा २८९ मिलिमिटर, गौरमा २५९ मिलिमिटर, वीरगञ्जमा २४७ मिलिमिटर, पर्सामा २३१ मिलिमिटर र बारामा २२२ मिलिमिटर वर्षा भएको छ।

यस्तै, मकवानपुरमा १३४ र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा मापन भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेका छन् र साइरन बजाइएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काभ्रे–रोसी, मनोहरा–काठमाडौँ, बागमती–काठमाडौँ, लालबकैया–मकवानपुरमा जलसतह सतर्कता तह माथि पुगेको छ र अझै बढ्दो क्रममा छ।

बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी–नाला सतर्कता तह नजिक पुगेको भन्दै विभागले सावधानी अपनाउन नागरिकलाई अनुरोध गरेको छ।