इलाम — अविरल वर्षापछि आएको पहिरोले इलाम जिल्लामा ठूलो जनधनी क्षति पुर्याएको छ। हालसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने उद्धार तथा राहत कार्य तीव्रगतिमा जारी छ।
विवरणअनुसार, सूर्योदय नगरपालिका–१ मा ५ जनाको मृत्यु भएको छ र २ जना घाइते भएका छन्। इलाम नगरपालिका–६ (घोस) मा ६ जनाको ज्यान गएको छ। त्यस्तै, देउमाई नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ र माइजोकमाइ गाउँपालिकामा ८ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, स्थानीय तह र नेपाल प्रहरीको संयुक्त टोली प्रभावित क्षेत्रमा खटिएका छन्। बीओपी मानेभञ्याङ, नं. १ श्रीअन्तु गण, इलाम र सुरक्षा बेस बाँझोका उद्धारकर्मीहरू सक्रिय रूपमा उद्धार कार्यमा सहभागी भएका छन्।
स्थानीय तह, सुरक्षा निकाय र समुदायको सहकार्यमा उद्धार तथा राहत कार्य निरन्तर जारी छ भने थप क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।




















