काठमाडौँ — गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ ‘सानुभाई’ फेरि पक्राउ परेका छन्। आइतबार उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका ३३ वर्षीय सानुभाई यसअघि साउन १२ मा ठमेलको नर्सिङ चोकस्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए।

सानुभाई चर्चित कुमार श्रेष्ठ ‘घैंटे’का सहयोगी मानिन्छन्। ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाई अहिले सातौँ पटक पक्राउ परेका हुन्।

यसपटक पक्राउ गर्नुको कारण प्रहरी प्रशासनले सार्वजनिक नगरे पनि उनी हाल समिरमान सिंह बस्नेत निकट मानिने गरिएको उल्लेख छ।

सानुभाई २०७२ मा नुवाकोटमा हातहतियारसहित पक्राउ परेका थिए। त्यतिबेला उनलाई बुलेटप्रुफ ज्याकेटसहित प्रहरीले नियन्त्रणमा लिएको थियो भने हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिएको थियो।