काठमाडौं—पहिरोले इलाममा ठूलो जनधनको क्षति पुर्‍याएपछि नेकपा एमालेका युवा नेता तथा इलाम–२ का निवर्तमान सांसद सुहाङ नेम्वाङले प्रभावित परिवारका लागि तत्काल राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन्।

सोमबार सिंहदरबार पुगेका नेम्वाङले गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टसँग भेट गरी राहत तथा पुनःस्थापनाबारे ध्यानाकर्षण गराएका हुन्।

उनका अनुसार इलाममा पटक–पटक भइरहेको पहिरो समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक छ। ‘अहिलेको समस्या मात्र होइन, आउँदो पुस्ताका लागि पनि सुरक्षित वातावरण सुनिश्चित गर्न भूगर्भविद्हरूलाई माटो परीक्षण गरी दिगो व्यवस्थापन गर्न अनुरोध गरिएको छ,’ उनले बताए।

नेम्वाङले पहिरोमा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने मागसमेत राखेका छन्। उनका अनुसार एक जना मृतकका परिवारलाई दुई लाख रुपैयाँ र एकभन्दा बढी मृत्यु भएको खण्डमा थप प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले क्षतिपूर्ति दिनुपर्नेछ।

त्यस्तै, अस्थायी व्यवस्थापनका लागि प्रभावित परिवारलाई दुई किस्तामा राहत रकम वितरण गर्न, अवरुद्ध बाटो, पुल र विद्युत सेवा यथाशीघ्र पुनःसञ्चालन गर्न पनि उनले आग्रह गरेका छन्।

सुरक्षा र सतर्कताका लागि नेम्वाङले सबै नागरिकलाई स्थानीय प्रशासनका निर्देशन पालना गर्न र जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरेका छन्। ‘यस कठिन घडीमा हामी सबै एकजुट भएर प्रभावित परिवारलाई सहयोग र राहत पुगोस् भन्ने अपिल गर्दछु,’ उनले भने।

हालैको अविरल वर्षा पछिको बाढीपहिरोमा इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ भने केही अझै बेपत्ता छन्।