काठमाडौं—‘जेन–जी आन्दोलन’का नाममा चर्चित सुदन गुरुङ समूहले सोमबार साँझ भद्रकालीस्थित प्रहरी परिसरमा पुगेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकको पक्राउ माग गरेपछि काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ।

गुरुङ नेतृत्वको टोलीले ‘जेन–जी आन्दोलनमा दमनको आदेश दिनेहरूलाई पक्राउ गर्नुपर्छ’ भन्दै प्रहरी परिसरमा निवेदन दर्ता गर्न प्रयास गरेको थियो। तर, सरकारले गठन गरेको जाँचबुझ आयोगले हाल उक्त विषयमा काम गरिरहेको भन्दै प्रहरीले निवेदन लिन अस्वीकार गरेको छ।

निवेदन दर्ता नहुने जानकारी पाएपछि समूहका सदस्यहरू ‘अब सडकबाटै देखाइदिन्छौँ’ भन्दै प्रहरी परिसरबाट बाहिरिएका थिए। त्यसपछि काठमाडौं उपत्यका प्रहरी परिसरले सबै वृत्त र बिटका प्रहरीलाई फिर्ता बोलाउँदै सतर्क रहन निर्देशन दिएको स्रोतले जनाएको छ।