काठमाडौं — नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको अभिव्यक्तिप्रति प्रतिक्रिया दिएकी छिन्।

डा. गोविन्द केसीको आन्दोलनको प्रसङ्गमा प्रसाईंले आफ्नो नाम जोडेर दिएको टिप्पणीको खण्डन गर्दै उनले सामाजिक सञ्जालमार्फत स्पष्ट प्रतिक्रिया जनाएकी हुन्।

नेतृ झाँक्रीले लेखेकी छिन्,

“म कहिल्यै पनि गोविन्द केसीको आन्दोलन र तरिका ठिक हो भन्ने मान्छे होइन। म त्यो आन्दोलनको समर्थक कहिल्यै भइनँ।”

उनका अनुसार, उक्त आन्दोलनको समर्थन नगरेको र त्यसविरुद्ध अभिव्यक्ति दिएको कारण आफू सामाजिक सञ्जालमा ‘बुलिङ’को शिकार बनेकी थिइन्।

झाँक्रीले प्रश्न गर्दै लेखेकी छन् — “यदि डिन कार्यालयमाथि विश्वास गर्न सकिँदैन भने शिक्षा कसरी विश्वसनीय हुन्छ?”

उनले आफू अधिकार र कर्तव्य दुवैलाई सन्तुलित रूपमा लिने मान्यता राख्ने व्यक्ति भएको बताएकी छिन्।

मेडिकल शिक्षालाई नियोजन नभई नियमन गर्नुपर्छ भन्ने धारणा राख्दा त्यसबेला आलोचना खेप्नु परे पनि अहिले आएर त्यो धारणा सही ठहरिएको महसुस गरेको उनले उल्लेख गरेकी छिन्।

२०७२ सालको भूकम्पपछि सरकारले लिएको नीतिबिरुद्ध बालुवाटार घेर्ने अभियान सञ्चालन गर्नेहरूमा असहमति जनाएपछि आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको आरोप समेत उनले लगाएकी छिन्।

उनले लेखेकी छन् —

“खगेन्द्र संग्रौलालगायतले नेपाल बाहिर बन्दै गरेको होटललाई मेरो घर भनेर फेसबुक, ट्वीटरमा सेयर गर्दै गलत प्रचार गरे। आज म बस्दै गरेको घरमा ‘जेन Z’ को नाममा भएको तोडफोड र लुटपाट त्यसकै परिणाम थियो।”

झाँक्रीले थपेकी छिन् कि, अब भ्रमहरू विस्तारै चिर्दै जानेछिन्।

दुर्गा प्रसाईंलाई आफ्ना स्रोतहरू पुनः रुजु गर्न आग्रह गर्दै उनले भनिन् —

“म सधैं सत्यको पक्षमा उभिने मान्छे हुँ। भीड र सस्तो लोकप्रियताको पछि कहिल्यै लागेकी थिइनँ, लाग्नेछैन पनि।”