काठमाडौं — नेकपा (एकीकृत समाजवादी) सम्बद्ध प्रवासी नेपाली एकता मञ्च, युएई–दुबईका अध्यक्ष विपिन सापकोटाले पार्टी परित्याग गरेका छन्। अध्यक्ष माधवकुमार नेपालप्रति असन्तोष जनाउँदै उनले पार्टी छोडेका हुन्।

सापकोटा हाल नेकपा (एमाले)मा पुनः फर्किने तयारीमा रहेका छन । लामो समयदेखि प्रवासी नेपाली राजनीतिक क्षेत्रमा सक्रिय उनी सङ्गठन सुदृढीकरण, कामदार हकहित र वामपन्थी एकता प्रवर्द्धनमा सक्रिय नेताका रूपमा परिचित छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सापकोटाले भनेका छन्, “सधैं वामपन्थी एकता, सङ्गठन सुदृढीकरण र प्रवासी नेपालीको हितका लागि काम गरेको छु। अहिलेको अवस्थाले फेरि त्यही दिशामा अग्रसर हुनुपर्ने आवश्यकता देखियो।”

उनका अनुसार अहिलेको राजनीतिक परिस्थिति वामपन्थी एकतालाई कमजोर बनाउँदै लैजाने दिशामा गइरहेको छ, त्यसैले मूलधारको कम्युनिस्ट आन्दोलनसँग पुनः जोडिँदै देश र प्रवासी जनताको पक्षमा अझ प्रभावकारी योगदान गर्ने लक्ष्य रहेको उनले बताए।