काठमाडौं—जेनजी प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट भागेका मध्ये झण्डै पाँच हजार सात सय कैदी अझै फरार रहेका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार प्रदर्शनका क्रममा २८ वटा कारागार र नौ वटा बालसुधार गृहबाट १४ हजार ५५३ कैदीबन्दी फरार भएका थिए। तीमध्ये सोमबार अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ जना कारागार फर्किसकेका छन्।

तर अझै पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ जना फरार रहेका छन्। गृह मन्त्रालयले असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म स्वेच्छाले कारागार फर्कन ‘अल्टिमेटम’ जारी गरेको थियो।

फरार कैदीबन्दीका कारण देशभर सुरक्षाको चुनौती बढेपछि सरकारले विशेष खोजी अभियान सञ्चालन गरेको छ। सुरक्षाकर्मीहरूले फरार कैदीबन्दीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाउने कार्य जारी राखेका छन्।

मन्त्रालयले हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकाय र सम्बन्धित अधिकारीहरू सम्मिलित कार्यदल गठन गरेको छ। सो कार्यदलले फरार कैदीबन्दीको खोजी, नियन्त्रण र पक्राउका लागि परिचालन भइरहेका छन्।

प्रदर्शनको मौका पारेर झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, डिल्लीबजार, मकवानपुर, चितवन, कास्की, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, जुम्ला, कैलाली, दार्चुला, डडेल्धुरा लगायत २८ जिल्लाका कारागारबाट कैदी भागेका थिए। यस्तै नौ वटा बालसुधार गृहबाट नौ सय ६३ बालबन्दी फरार भएका थिए।

फरार प्रयासका क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो भने नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच बालबन्दीको ज्यान गएको थियो।

हाल देशभर ७२ जिल्लामा ७५ वटा कारागारमा गरी ३० हजार ६ सय ४६ कैदीबन्दी रहेका छन्। विभागका अनुसार फरार रहेका कैदीबन्दीले कारागारमा स्वेच्छाले फर्किएनन् भने कानुनबमोजिम कडा कारबाही गरिनेछ।