काठमाडौं—जेन-जी समूहको धम्कीपछि मंगलबार बिहानैदेखि काठमाडौंका संवेदनशील क्षेत्रमा प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ। बिहान ७ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आसपासको क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको हो।
स्रोतका अनुसार ती क्षेत्रमा ‘छानिएका’ दक्ष प्रहरी अधिकृतहरूलाई विशेष निर्देशनसहित खटाइएको छ। भिड जम्मा भए वा सुरक्षालाई चुनौती दिने गतिविधि देखिएमा चरणबद्ध रूपमा बल प्रयोग गर्न सकिने अनुमति दिइएको प्रहरी अधिकारीले बताए।
सोमबार राति प्रधानमन्त्री निवासमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुवेर खापुङले जेन-जी समूहले प्रहरी कार्यालयमै पुगेर दिएको धम्कीबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएका थिए। आईजी खापुङले सो व्यवहारप्रति आपत्ति जनाउँदै प्रहरीको मनोबल खस्काउने कुनै पनि कार्य अस्वीकार्य भएको बताएका थिए।
प्रधानमन्त्री कार्कीले पनि सुरक्षाकर्मीको मनोबल उच्च राख्न निर्देशन दिँदै संवेदनशील स्थानमा तत्काल प्रभावकारी सुरक्षा व्यवस्था गर्न आदेश दिएकी थिइन्।
त्यसअनुसार मंगलबार बिहानैदेखि प्रधानमन्त्री निवास र अख्तियारको सुरक्षामा विशेष कमाण्डो टोली परिचालन गरिएको हो। टोलीलाई भिड नियन्त्रणका लागि चेतावनी दिने देखि आवश्यक परे बल प्रयोग गर्नेसम्मको अधिकार दिइएको छ।
यसअघि हिजो सुधन गुरुङ नेतृत्वको जेन-जी टोलीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न माग गर्दै प्रहरी परिसरमै पुगेको थियो। तर प्रहरीले उक्त माग अस्वीकार गर्दै भदौ २३–२४ को घटनाबारे जाँचबुझ आयोगले काम गरिरहेको जनाएको थियो। त्यसपछि गुरुङको टोली ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै परिसरबाट निस्किएको थियो।
सुरक्षा संवेदनशीलता बढेपछि काठमाडौं उपत्यका प्रहरी परिसरले हिजै साँझ प्रहरी बिटका सबै टोली फिर्ता बोलाएर सतर्कता बढाएको जनाएको छ।



















